About Us

img

कान्तिपुर थिएटर, कान्तिपुर फिल्म एकेडेमीको रंगमञ्च, सबै क्षेत्रका कलाकारलाई अटाउने तथा सिनेमा र रंगमञ्चलाई जोड्ने साझा मञ्च हो । नेपाली चलचित्रका महानायक राजेश हमाल ले शिलान्यास गर्नुभएको यस थिएटरको उद्घाटन मूर्धन्य कलाकार मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ले गर्नुभएको हो ।

पहिलो नाटक ‘मीरा’ मा मीरा नामकी स्त्रीको आत्मिक यात्रा प्रस्तुत गरिएको थियो भने दोस्रो नाटक ‘शिरीषको फूल’ ले जीवन, माया र सम्बन्धका संवेदनशील पक्षहरू उजागर गरेको थियो । यस नाटकमार्फत नायिका रेखा थापा र नायक जीवन लुईटेल ले रंगमञ्चमा डेब्यु गर्नुभएको थियो ।

तेस्रो नाटक ‘महारानीको जात्रा’ ले इतिहास र वर्तमानबीचको संवाद, सत्तासीन नारीको शक्तिशाली प्रतिनिधित्व तथा समाजमा महिलाको भूमिकालाई प्रस्तुत गरेको थियो । यसमा उषा रजक को अभिनयले दर्शकको मन जितेको थियो । चौथो नाटक ‘सेतो धरती’ ले नेपाली समाज, परम्परा र महिलाको संघर्षलाई संवेदनशील ढंगले प्रस्तुत गरेको थियो । नायिका बेनिशा हमाल को सशक्त अभिनय र भावनात्मक प्रस्तुतिले दर्शकबाट विशेष प्रशंसा प्राप्त गरेको थियो ।

कान्तिपुर थिएटरले कलाकार र दर्शकबीच अन्तरक्रिया प्रोत्साहित गर्दै नेपाली कला क्षेत्रमा सशक्त प्लेटफर्मको रूपमा आफूलाई स्थापित गरेको छ । नाटक मञ्चनसँगै कान्तिपुर थिएटरले अभिनय तथा थिएटर प्रोडक्सनका कक्षाहरू पनि सञ्चालन गर्दै आएको छ । हालसम्म १०० भन्दा बढी कलाकारहरूले यस थिएटरको मञ्चमा विभिन्न पात्रका रूपमा जीवन्त प्रस्तुति दिइसकेका छन् ।

 

हाम्रो उद्देश्य

समाजका विविध विषयमा आधारित नाटकहरू प्रस्तुत गरेर यो थिएटरले नाटकहरू मार्फत् समाजमा विद्यमान कुरीति, विसंगति लगायत गम्भीर विषयहरू, इतिहास, दर्शन र मानवीय संवेदनालाई उजागर गरी दर्शकहरूमा सामाजिक, राजनैतिक तथा सांस्कृतिक चेतनाको विस्तार गर्ने लक्ष्य बोकेको छ। यो थिएटर सीर्जनशील लेखक, निर्देशक, कलाकार तथा रंगकर्मीहरूका लागि स्वतन्त्र अभिव्यक्तिको मञ्च हो ।   

अभिनय र रंगमञ्च सिक्न चाहने विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यासको अनुभव पनि प्राप्त गरुन् भन्ने हेतुका साथ कान्तिपुर थिएटरले यो मञ्चलाई प्रयोगात्मक विद्यालयको रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ र हरेक बर्ष न्युनतम १० वटा आफ्नै प्रोडक्सनको नाटक निर्माणसँगै मञ्चन गर्ने र सके सम्म धेरै अनुभवि कलाकारलाई यही क्षेत्रमा निरन्तर काम गर्ने वातावरण बनाउने र नयाँ कलाकारहरुलाई अवसर दिने मुख्य उदेश्य लिएको छ ।